गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन: प्रचण्ड
जनकपुरधाम ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् ।
पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको बताए ।
आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गर्दै उनले शान्ति सम्झौताको निरन्तरता कै रुपमा गठबन्धन अगाडि बढेको उल्लेख गरे । उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता एवं नेताहरुलाई निर्देशन समेत दिए ।
‘सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच कुनै समस्या छैन’, उनले भने, ‘हामी यो देखाउन चाहन्छौँ कि गठबन्धनका हामी नेताहरु एक ढिक्का छौँ, हाम्रो बीचमा अहिले कुनै दरार छैन ।’