काम गर्न मन्त्री नै हुनुपर्छ भन्ने छैन : नेता सिंह
काठमाडौं ।
नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले प्रधानमन्त्री भए आफुसँग मुलुककै कायापलट गर्ने आत्मविश्वास भएको बताएका छन् ।
काठमाडौं–१ मा पर्ने शंखमुलमा शनिबार मतदाताका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा उनले क्षेत्रको विकासका लागि मन्त्री हुनैपर्ने आवश्यकता नभएको बताएका हुन ।
काठमाडौं–१ बाट निर्वाचित सिंहले शनिबार काठमाडौको शंखमुलमा मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोपजत कार्यक्रममा यस्तो बताएका हुन् । उनले काम गर्नका लागि मन्त्री नै हुनु आवश्यक नरहेको समेत बताए ।
नेता सिंहले आफू मन्त्री भए काठमाडौं–१ का जनताका लागि सुनमा सुगन्ध हुने दावी गर्दै जनताबाट अनुमोदित हुन नै सबैभन्दा ठूलो पद भएको बताए । ‘म जनप्रतिनिधि हुँ । म पदमा जाउँला नजाउँला । तर, जनप्रतिनिधिको पद त छ नि मसँग’ उनले भने, ‘मैले गर्न सक्ने काम त म त्यसैबाट गर्न सक्छु । मन्त्री हुनैपर्छ भन्ने छैन ।’
सोहीक्रममा उनले प्रधानमन्त्री नै भएमा मुलुककै कायापलट गर्न सक्ने आफूसँग आत्मविश्वास रहेको बताए । उनले प्रधानमन्त्री चाहँदैमा बन्न सहज नभएको उनले बताए ।
‘प्राइमिनिस्टर भयो भने त मैले भने नि कन्ट्रीको कायापलटै गर्न सक्ने कन्फिडेन्स ममा छ’ उनले भने, ‘यो त तपाईंहरुले मात्रै चाहेर पनि हुँदैन । मैले चाहेर पनि हुँदैन ।’ उनले पदमा नभएपनि आफूलाई माननीय बनाइदिएको भन्दै मतदातालाई धन्यवाद दिए ।