मेस्सी विश्वकपकै सर्वोत्कृष्ट


  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट
  • एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधि विजेता अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल प्राप्त गरेका छन् । कप्तान मेस्सीले पहिलो पटक विश्वकप जित्ने क्रममा प्रतियोगिता अवधिभर सानदार प्रदर्शन गरेका थिए । अर्जेन्टिनाको उपाधि यात्रामा ७ गोल र ३ असिस्ट प्रदान गर्दै मेस्सीले गोल्डेन बल पाएका हुन् । फाइनलमा दुई गोल गरेका उनले प्रतियोगिताको हरेक चरणमा गोल गर्ने दुर्लभ उपलब्धि पनि हासिल गरे । मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । उक्त खेलमा मेस्सीको पेनाल्टी गोलरक्षक वोज्सिएक सेचेज्नीले बचाएका थिए । नकआउट चरणको सबै खेलमा मेस्सीले गोल गरे । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिए । फाइनलमा दुई गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई उपाधितर्फ डोर्याएका थिए । प्रतियोगितामा फ्रान्सका किलीयन एमबाप्पेले सिल्भर बल प्राप्त गरे। उनले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि हासिल गरेका थिए । क्रोएसियाका लुका मोड्रीचले ब्रोन्ज बल हात पारे । प्रतियोगिताका शीर्ष तीन खेलाडीलाई क्रमश: गोल्डेन, सिल्भर र ब्रोन्ज बल प्रदान गरिँदै आएको छ । संयोगवश उत्कृष्ट तीन खेलाडी प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्न सफल टोलीका जर्सी नम्बर १० रहे । हाम्रोखेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *