वामदेव गौतम एमाले फर्केर राष्ट्रपति बन्ने चर्चा
काठमाडौं ।
वामपन्थी नेता वामदेव गौतम यतिखेर बेरोजगार जस्तै छन् । उनीसँग खास पार्टी र जिम्मेवारी छैन ।
तत्कालीन नेकपा विभाजन हुँदा एमाले र माओवादी कुनै पनि पार्टीमा नलागी ‘नेकपा एकता अभियान’ सञ्चालन गरेर बसेका वामदेवले सोही अभियानलाई पार्टी बनाउने कोसिस नगरेका होइनन् । तर, सफल हुन सकेन ।
साना–साना केही कम्युनिष्ट झुण्डलाई जम्मा पारेर पार्टी बनाएका गौतमलाई पार्टीकै नेताहरूले कारबाही गरे । त्यसपछि उनी खास जिम्मेवारीमा छैनन् । तर, आफूलाई अहिले पनि नेकपा एकता अभियानकै संयोजक भन्ने गरेका छन् ।
लामो सयम चुपचाप बसेका गौतमले केही दिन अगाडि भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुनुपर्ने आसयको धारणा सार्वजनिक गरेका थिए ।
गौतमको उक्त धारणा सार्वजनिक भएसँगै उनी राष्ट्रपतिको लबिङमा जुटेको समेत चर्चा चलेको छ । बजारमा सुनिएको चर्चाअनुसार उनी नेकपा एमालेमा फर्केर राष्ट्रपति बन्न चाहन्छन् ।
पछिल्लो समय एमाले र माओवादीको सहकार्यमा सरकार गठन हुँदा एमालेको भागमा राष्ट्रपति परेको छ । त्यसैले एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका गौतम एमाले प्रवेश गर्दै राष्ट्रपति बन्न चाहेको चर्चा चलेको हुनसक्ने अनुमान हुने गरेको छ ।
त्यसो त पछिल्लो समय गौतमले एमाले नेताहरूसँग संवाद बढाएको समेत सुनिन्छ । औपचारिक रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली वा अन्य नेतासँग छलफल नगरे पनि उनले अनौपचारिक रुपमा भने छलफल चलाइरहेको एमाले नेताहरू बताउँछन् ।
एमाले प्रवेश गरेर वामदेव प्रधानमन्त्री बन्ने चर्चा चलेसँगै एमालेका राष्ट्रपति आकाङ्क्षीहरूमा भने खैलाबैला मच्चिएको छ । उनीहरूले कार्यकर्ताबाट यसको विरोध गरिरहेका छन् ।
एमालेबाट सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली लगायत राष्ट्रपतिको सम्भावित र आकांक्षी हुन् ।