पोखरामा इन्टरनेट सेवा बन्द
पोखरा ।
पोखरामा इन्टरनेट सेवा बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य ‘अपरेशन सेन्टर’मा विद्युत् विच्छेद गरेकोले सेवा बन्द भएको इन्टरनेट सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।
विद्युत् प्राधिकरणले अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै उल्लङ्घन गरेको आईस्पानको आरोप छ । प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानको दाबी छ । यसको जिम्मेवार प्राधिकरण भएको र क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ ।
विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने र विद्युत् विच्छेद गर्ने काम भएको आईस्पानको आरोप छ ।
विद्युत् प्राधिकरणले भने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको पोल प्रयोग गरेर उपभोक्तालाई चर्को मूल्यमा इन्टरनेट बेचेको तर पोल भाडा तिर्न आनाकानी गरिरहेको आरोप लगाएको छ ।