प्रदेश १ सरकारले घटायो मन्त्रालयको संख्या
विराटनगर ।
प्रदेश १ सरकारले मन्त्रालय संख्या घटाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १४ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको हो ।
मन्त्रालय धेरै भए भन्ने गुनासो आइरहेको भन्दै मन्त्रालय संख्या घटाएको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ ।
यस्तै सेवा प्रवाह सुधार ल्याउन प्रमुख सचिवको नेतृत्व २१ दिनभित्र प्रतिवेदन बुझाउने गरी सुधार समिति गठन गर्ने लगायतको निर्णय गरेको हो ।
यसअघि प्रदेश १ मा ७ वटा मन्त्रालय थियो, तर नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको गठबन्धन बनेपछि मन्त्रालय संख्या बढाएर १४ सम्म पुर्याइएको थियो ।