आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले यूएईविरुद्ध सानदार जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो ।
यूएईविरुद्ध फराकिलो रनको जित निकालेसँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यतालाई जोगाएको छ । लिग टुमा चौथो स्थानमा उक्लिएसँगै नेपालले ओडीआई मान्यतालाई कायमै राख्न सफल भएको हो ।
यूएईविरुद्धको जितसँगै ३४ खेलबाट ३६ अंक बनाएको नेपाल लिग टुको चौथो स्थानमा उक्लियो । योसँगै नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको हो । यता, यूएईले लिग टुबाट एकदिवसीय मान्यतालाई जोगाउने अवसर गुमाएको छ ।
अब एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम गर्न यूएईले विश्वकप छनोटको प्लेअफमा जर्सी र क्यानाडामध्ये एकलाई उछिन्नुपर्ने हुन्छ । यता, नेपालसँग यूएई हारेसँगै अमेरिकाले पनि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायमै राख्न सफल भएको छ । अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । पराजित यूएईको भने ३४ खेलबाट ३१ अंक छ ।