राजेन्द्र खनाल ‘क्षितिज’
लिम्पियाधुरामा बसेर
म तल बगेको महाकाली नदी हेर्छु
र, आफैँलाई प्रश्न गर्छु–
म यता छु कि उता ?
म आफ्नै भूमिमा छु कि पराई भूमिमा ?
जब भावुकताका आँसु आउँछन् आँखाबाट
र
तपतप झर्न खोज्छन् प्रिय भूमिमा,
जब सललल बग्न खोज्छन् प्रिय नदीमा
थाहा छैन–
मेरा आँसु आफ्नै भूमिमा झर्छन् कि पराई भूमिमा ?
मेरा आँसु आफ्नै नदीमा बग्छन् कि पराई नदीमा ?
०००
पुर्खौँदेखि बस्दै आएको यो थातथलो
सदियौँदेखि सिञ्चँदै आएको यो रस्तीबस्ती
कहाँ बिर्सन सकिन्छ बर्सेनि तीन बाली उब्जाएको,
कहाँ भुल्न सकिन्छ पुस्तौँपुस्ता यही भूमिमा खेली खाएकोे ?
लिम्पियाधुरामा बसेर
हिजोआज
डर पनि लागिरहन्छ–
कतै उठीबास त हुने होइन हाम्रो ?
बोल्नुपर्ने आवाजहरू गुमचुप हुने त होइनन् हाम्रा ?
जनगणनामा हाम्रो संख्या नै कतै तलमाथि पर्ने त होइन ?
०००
अचेल राष्ट्रगान बज्दा पनि
मन कुटुकुटु खान्छ÷गिज्याएझैँ लाग्छ
राष्ट्रगान भन्छ–
सार्वभौम भई फैलिएका मेची–महाकाली
किन ‘मेची–महाकाली’ ?
किन भनिन्न ‘मेची–कालापानी’ ?
किन भनिन्न ‘मेची–चाँदनी–दोधारा’ ?
दुःख लाग्छ–
हाम्रो भूमि त राष्ट्रगानमा पनि समेटिएन
हामी र हाम्रो भूमिको पर्वाह नै गरिएन ।
०००
लिम्पियाधुरामा बसेर
म तल बगेको महाकाली नदी हेर्छु
र, आफैँलाई प्रश्न गर्छु–
म यता छु कि उता ?
म आफ्नै भूमिका छु कि पराई भूमिमा ?
(धरान, विजयपुर)बाह्रखरी
Next Post: व्यस्त सहरको कथा