नेपालगन्ज : पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदै गईरहेका छन्। अधिकांश व्यापार व्यवसाय बन्द भइसकेका छन्।
धेरै व्यापारीहरु त झन् व्यवसाय बन्द गरेर विदेश पलायन समेत भइसकेका छन् । अधिकांश व्यापारीहरु विदेशिने क्रममा छन् ।
यही कुरालाई मध्यनजर गर्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेका अध्यक्ष एवम् व्यापारी समेत रहेका कृष्णप्रसाद श्रेष्ठले आफ्नो घरमा सटर भाडामा लिएर व्यापार गर्ने ५ जना व्यापारीलाई घरभाडामा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
बैंकले बढाएको चर्को व्याजदर र आर्थिक मन्दीका कारण सटरभाडा समेत तिर्न मुस्किल परेको अवस्थामा व्यापारीलाई केही राहत मिलोस भनेर एक वर्षसम्म १० प्रतिशत घरभाडा छुट दिने श्रेष्ठले बताए।
त्यसो त, सम्पूर्ण घरधनीहरुले आफ्नो घरमा भाडामा व्यापार गर्ने व्यापारीलाई भाडादरमा सहुलियत दिन श्रेष्ठले आग्रह गरेका छन्। आफ्नो घरमा पनि ५ जना व्यापारीले भाडामा व्यापार गरिरहेकाले आफैबाट उक्त कार्यको थालनी स्वरुप श्रेष्ठले भाडादरमा छुट दिने निर्णय गरेको श्रेष्ठको भनाइ छ।
पत्रकार सम्मेलनमा नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले पनि घरधनीहरुलाई भाडादरमा छुट दिन अपिल गर्दै एउटा प्रेस विज्ञप्ति जारी गरेको छ।
नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्ने, हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा न आउँदासम्म जति सकिन्छ भाडादरमा छुट उपलब्ध गराउन लगायतमा माग पत्रकार सम्मेलनमा नेपाल उद्योग तथा व्यापार महासंघ बाँकेले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।