काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।
मंगलबार बिहानसम्म ५६ हजार ५०७ मत गणना हुँदा लामिछानेले ४० हजार ६९ मत मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७ हजार ४५८ छ । उनीहरूबीचको मतान्तर ३२ हजार ६११ हजार छ । यता नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार २६७ मत पाएका छन् ।
चितवन–२ मा आइतबार भएको निर्वाचनमा ७८ हजार २७७ मत खसेको थियो । अब गन्न बाँकी मत २८ हजारमात्र छ । जबकि लामिछानेले प्रतिस्पर्धीसँग ३२ हजारको मतान्तर बनाइसकेका छन् । गत मंसिरको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका रवि नागरिकता विवादमा सर्वोच्चको फैसलाबाट पदमुक्त भएका थिए ।