काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान पक्राउ परेका हुन् ।
खाँणलाई पक्राउ गरी प्रहरी परिसर लगिएको प्रहरीले जनाएको । पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले बताए ।
सो प्रकरणमा यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौंको चावहिलस्थित घरमा रहेका खाँणलाई निवासबाटै पक्राउ गरिएको हो । खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् ।