काठमाडौं । तरुण दलका नेता योग ढकाल रिगलको आममाफी विरुद्ध भारती मानन्धर आज पुनः माइतीघरमा अनशन बसेकी छन् ।
हिजो बुधबार सर्वाेच्च अदालत परिसरमै बेहोस भएर ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएकी भारती उपचारपश्चात आज फेरि अनशन बसेकी हुन् । सरकारले आफ्ना श्रीमान् श्रीमान चेतन मानन्धरका हत्याराको बाँकी कैद मिनाह गरेको विरोधमा उनले हिजोदेखि अनशन सुरु गरेकी हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका योग ढकाल (रिगल)को बाँकी सजाय मिनाह गरेका थिए । रिगलले चेतनलाई नेपालगञ्जको व्यस्त बजारमा दिउँसै खुँडा प्रहार गरी हत्या गरेका थिए । यो मुद्दामा अदालतले रिगलविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । उनी करिब ५ वर्ष जेल बसेर माफी पाई थुनामुक्त भएका छन् ।
राष्ट्रपतिबाट सजाय मिनाहा भएपछि दाङको घोराहीस्थित कारागारमा रहेका उनी लावालस्करसहित नेपालगञ्ज आएका थिए । उनलाई माफी दिने सरकारको सिफरिसको चौतर्फी विरोध भइरहेको छ ।