काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड अन्तरगत तिथि अनुसार आज नवरात्रको पाँचौँ दिन पञ्चमी हो ।
देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका कारण देवीको नाम स्कन्दमाता रहन भएको हो ।
स्कन्दमाताको चार हात रहेको छ । देवीको दुई हातमा कमलको फुल, काखमा बालक स्वरुपको भगवान कुमार र एउटा हात आशिर्वाद मुद्रामा रहेको छ । स्कन्दमाताको वहान सिंह रहेको छ । कमलको फुलमा बस्ने भएकीले देवीलाई पद्मासना पनि भनिन्छ ।
यस स्वरुपकी देवीलाई विशेष गरेर फलमा केरा चढाइन्छ । स्कन्दमाताको पूजा आराधना तथा ध्यान गर्नाले संसारिक पाप तथा कष्टबाट छुट्कारा मिल्ने विश्वास छ । नवरात्रभर देशका विभिन्न शक्तिपीठहरूमा दर्शन गर्ने भक्तजनको घुईँचो लाग्ने गर्छ ।