दर्शन सुनार, कतार : रामेछाप सेवा समाज कतारले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ। विजयादशमी एवं शुभ दीपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम २०२३ भव्य रुपमा सम्पन्न गरेको हो ।
समाजका अध्यक्ष नर बहादुर घिसिङको सभापतित्व तथा समाजका विशेष सल्लाहकार सुर्य भन्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा नेपालबाट आमन्त्रित समाजसेवी तथा युवा व्यवसायी नवाङ ढुन्डुप लामा विशिष्ट अतिथिको रुपमा रहेका थिए।
विधिवत उद्घाटनसहित सुरु भएको कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष रबिचन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको बारेमा समाज तथा रामेछाप जिल्लाको बारेमा समाजका कोषाध्यक्ष शुभराज सुनुवारले प्रष्ट पारेका थिए ।
बार्वी खड्का, आरजु राई, आरुषी रिजाल लगायतका बाल कलाकारहरुले कार्यक्रममा सामुहिक स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको सभाहलमा कतारमा स्थापित विभिन्न जिल्ला तथा प्रदेश परिषद, वैचारिक संगठन, कलाकार, पत्रकारहरू, सामुदायिक संघ-संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। उपस्थित विशिष्ट व्यक्तिहरुले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा गायिका गुना मगर निशु , रेश्मी सेन्चुरी, मानसिङ परियार, बाबु कौशल, चन्द्र बिसी, कुमार मोक्तान अख्रेली, सरला तामाङले आफ्नो जोडदार सांगीतिक प्रस्तुति दिएका थिए। त्यस्तै, कमल सुनुवार, सृष्टि श्रेष्ठ र सुनिता शेर्पाले सामुहिक नृत्य प्रस्तुत गरेका थिए।
विशिष्ट अतिथि नवाङ ढुन्डुप लामाले शुभकामना दिँदै कार्यक्रममा सामाजिक सभ्यता, सामाजिक सदभाव,सामाजिक भावना, सत्कार र आफ्नो सस्कांर संस्कृति झल्काउने नेपालमा जस्तै प्रवासमा रहेका नेपालीहरुले पनि आफ्नो संस्कृति बचाएकोमा निकै खुशी लागेको बताए। कतारसम्म आउनको लागि पहल गरिदिने समाजका अध्यक्ष तथा सम्पुर्ण कार्यसमितिलाई धन्यवाद प्रकट गर्दै उनले दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए।
एनआरएनए द सिङ्गर सिजन- १ मा कतारबाट प्रतिनिधित्व गर्दै फाइनलसम्म पुग्न सफल भएकोमा सफल सांगीतिक यात्राको शुभकामना दिँदै समाजले गायिका गुना मगरलाई सम्मान पत्रसहित सम्मान गरेको थियो। कार्यक्रममा उपस्थित भएर गायन र नृत्य प्रस्तुत गरेका कलाकारहरुलाई पनि समाजले पारिश्रमिकसहित कदर पत्रले सम्मान गरेको थियो ।
कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि सुर्य भन्डारीले कतार तथा गृह जिल्लामा समाजले निकै राम्रा कामहरु गर्दै आएको बताउँदै कार्यक्रम सफल पार्न अहोरात्र खट्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरे।
त्यस्तै, समाजका महासचिव आशिष् मोक्तान तामाङले सहजीकरण गरेको कार्यक्रमलाई सभापति नर घिसिङले समापन गरेका थिए। साथै उनले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद समेत प्रकट गरेका थिए।