`विदेश जान्नँ आमा´
भनिरहेकाे हुन्छु म
`तँ जानै पर्छ बाबु´
भनिरहनुहुन्छ आमा
दिउँसै जहाज चढेकाे सपना देख्नुहुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म
साईलाका छाेराले घर बनाईसके
माईलाका छाेराले खेत किनीसके
जेठाका छाेराले बुबा आमा उतै लगे
तँ भने यत्तिकै बस्
गुनासाे आईरहन्छ आमाकाे
अनि प्रश्न गर्नु हुन्छ
तँ पढेर के गरिस् ?
तेरा संगी नपढे पनि कति गरे !
म नतमस्तक हुन्छु, नाजवाफ हुन्छु
अनि आफूले आफैलाई प्रश्न गर्छु
तँले पढेर के गरिस् ?
संगै पढ्दा तीन पटक फेल हुनेहरू
कार चढेर हिडेका छन् आज
कक्षामा सधैं प्रथम हुने म
आज राम्राे बाईक चढ्न सकेकाे छैन
परिवार खुशी छैनन्
आफन्त खुशी छैनन्
त्यसैले हाेला श्रीमतिकाे पनि प्रश्न थपिन्छ
पढेर के गर्नु भाे ?
हाे त मैले के गरें?
न त मैले भ्रष्टाचार गर्न जाने
न कमिसनखाेर, विचाैलिया बनें
न दलाल बनें
न त ज्यू, हजुर, चाकडी गर्न जाने
त्यसैले हाेला मैले केही गर्न सकिनँ
देशकाे अवस्था उस्तै छ
व्यापार घाटा छ
मन्दी अनि महंगी बढ्दाे छ
बेराेजगार, गरिबी बढ्दै छ
त्यसैले त दिनहूँ
सयाैं युवा युवती सपनाकाे देशमा
उडिरहेका छन् ।
साहूकाे ऋण बढ्दाे छ
व्याज निकै चर्काे छ
बैंक मात्रै माेटाउने
जनता सबै दुब्लाउने
न कृषक, न त व्यापारी
सबै निचाेरिएका छन् ।
त्यसैले हाेला
आमाले दिउँसै जहाज चढेकाे सपना देख्ने
श्रीमतीकाे दबाब पनि उस्तै
एकाबिहानै छाेराछाेरी साेध्छन्
`बाबा तपाई कहिले बिदेश जाने?´
`माेबाईल कहिले पठाईदिनु हुन्छ ?´
यावत प्रश्नले म आफैैं लज्जित छु
मुटुभरि देशकाे माया
परिवारकाे माया उस्तै
भविष्यकाे सपना छुट्टै
परिवारकाे चिन्ता
समाजकाे अवस्था
देशकाे परिस्थिति
यसैले हाेला
दिउँसै जहाज चढेकाे सपना देख्नु हुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म
दिनहूँ उडेका मात्रै छैनन्
बाकसमा फर्किएका पनि छन्
सबैले बाबुआमा उतै लगेका छैनन्
बुढेशकालमा एक्लै भएका छन् बिरामी हुँदा हेर्ने मान्छे छैन
मरेपछि बाेक्ने छाेराे छैन
नाति नातिनीकाे आलिङ्गन छैन
देशकाे बाैद्धिक शक्ति हराउँदैछ
उर्जाशील जनशक्ति पलायन हुँदैछ
देशकाे भाषा, संस्कृति विलय हुँदैछ
तरपनि
दिउँसै जहाज चढेकाे सपना देख्नुहुन्छ आमा
रातमा जहाज चढेकाे सपना देख्छु म
(कावासोती, नेपाल)