महेन्द्रनगर । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेलाघाटमा सवारी दुर्घटनामा परि एक भारतीय सहित ७ नेपालीको मृत्यू भएको छ ।
सोमबारराति भएको सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये मृतक ६ जना बाँकेको बैजनाथ गाउँपालिका–८ का र अर्का एक नेपाली बर्दिया बाँसगढी नगरपालिकाका बासिन्दा भएको खुलेको छ ।
सवारी दुर्घटनामा परी मृत्यु हुनेमा बैजनाथ–८ का धीरज थारू, उदयराम थारू, विश्राम थारू, तिलकराम थारू, अन्तराम थारू र विनोद थारू रहेको बैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारूले जानकारी दिए ।
उनका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरू नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।
सबैजना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्,” वडाध्यक्ष थारूले भने, “मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन् ।”
दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ । दुर्घटनामा परी सात नेपाली नागरिकसहित जिप चालक भारतीय नागरिकको मृत्यु भएको थियो ।
बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिए । उनीहरू सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दै आएका थिए ।
सोमबार काम सकिएपछि जिप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदै हुँदै महेन्द्रनगर आउँदै थिए । जिप चढेको केही बेरमै उनीहरू दुर्घटनामा परेका थिए ।
बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । सोमबार राति नै भारतीय प्रहरी, स्थानीयलगायत उनीहरूको उद्धारमा खटिएका थिए । रासस