उत्कृष्ट कार्य गरेको भन्दै सुनीता बनिन ‘पुलिस अफ द मन्थ’
नेपालगंज ।
वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेमा दरबन्दी भई हाल भन्सार सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान सुनीता कुँवर बाँकेको ‘पुलिस अफ द मन्थ’ भएकी छन् । कुँवरलाई १ हजार नगद पुरस्कारसहित कदरपत्र प्रदान गरिएको हो ।
कुँवरले हालै डिउटीमा खटिएको अवस्थामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको १० लाख भारतीय रुपैयाँसहित एक पुरुषलाई नियन्त्रणमा लिन सफल भएकी थिइन् ।
तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह तथा विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यावसायिक, इमानदार र कर्तव्यनिष्ठ रहेको आधारमा कुँवरलाई उक्त पुरस्कार दिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीले प्रत्येक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । यस्तो कार्यले प्रहरीमा अनुशासन ,काम प्रति लगनशीलता र इमानदारी बढने प्रहरीको विश्वास छ ।