अक्सिजन सिलिन्डर संकलन गर्दै तनहुँ प्रहरी
दमौली ।
जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो ।
प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ ।
दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर सङ्कलन गरिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिण्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिए ।
डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुसालले जानकारी दिए । सङ्कलन गरिएको सिलिण्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।