कम पद भएको प्रहरीमा केही पद थपिदै
काठमाडौं ।
सुरक्षा निकायमा पदको संख्या पनि फरक–फरक छ । नेपाल प्रहरीमा राजपत्रांकित पद सात र राजपत्रअनंकित पाँचवटा पद छन् । सशस्त्रमा राजपत्रांकित पद सात र राजपत्रअनंकित आठ तह छन् भने सेनामा राजपत्रांकित १० र राजपत्रअनंकित आठ गरेर १८ वटा दर्जा छन् ।
करिब ८० हजार दरबन्दी भएको नेपाल प्रहरीमा सबैभन्दा कम पद छन् । सशस्त्रमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार गरी नेपाल प्रहरीको भन्दा तीन पद बढी छन् । ती पद नेपाल प्रहरीमा पनि राख्नुपर्नेबारे विगतदेखि नै छलफल भइरहेको थियो ।
थोरै पद हुँदा बढुवामा समस्या भएको भन्दै यसलाई संशोधन गर्न प्रहरीले लबिङ गर्दै आएको छ । प्रहरीले गरेको आन्तरिक सर्वेक्षणका क्रममा पनि कर्मचारीले बढुवामा लामो समय लाग्ने समस्या सुनाएका थिए । सुरक्षा निकायका बीचमा रहेको असमानताको विषयमा पनि प्रहरीभित्र पटक–पटक छलफल हुने गरेको छ । अब भने प्रहरीले ओैपचारिक रुपमा पद बढाउन प्रक्रिया अगाडि थालेको छ ।