तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु उत्रिए आन्दोलनमा
काठमाडौं ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् ।
माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए ।
‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्छौं’ उनले भने । फागुनयताको तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको बस्यालको भनाई छ ।
आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा असर नपरेको उनको भनाई छ । कर्मचारी संगठनकी महासचिव रत्ना गिरीले कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको बताइन् । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उनले भनिन् ।