तीन स्वर्ण र एक कास्यसहित चीन ओलम्पिकको शीर्ष स्थानमा
एजेन्सी – जापानको राजधानी टोकियोमा जारी ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक -२०२०) मा चीन पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
चीनले पहिलो दिनको खेल सकिदासम्म तीन स्वर्ण र एक कास्यसहित चार पदक प्राप्त गर्दै शीर्षमा रहेको छ । ओलम्पिकमा प्रतियोगितामा इटाली र जापान एक÷एक स्वर्ण तथा दुई–दुई रजतसहित दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया एक स्वर्ण र दुई कास्य पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
यसैगरी इक्वेडर, हंगेरी, इरान, कोशोभो र थाइल्यान्डले समान १–१ स्वर्ण पदक जितेका छन् । यस्तै सर्विया, बेल्जियम, स्पेन, भारत, नेदरल्यान्ड्स, रोमानिया, चाइनिज ताइपेई र ट्यूनिसिया एक÷एक रजत पदक प्राप्त गरेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोली गरेर हालसम्म २८ देशले पदक जित्न सफल भएका छन् ।
नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तीमध्ये कल्पना परियारले आफ्नो विधा १० मिटर एयर राइफलमा आफ्नो प्रदर्शन सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेपनि दोस्रो चरणमा पुग्न सकेनन् ।
कल्पनाले दुई वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आफैँले बनाएको राष्ट्रिय कीर्तिमान भंग गरिन् । उनले ६१६.८ अंक जोडिन् । यसअघि उनको नाममा ६१४.५ अंकको कीर्तिमान थियो ।
४८ केजीमुनि प्रतिस्पर्धा गरेकी जुडोकी सोनिया भट्ट पहिलो बाउटमै रसियन खेलाडी इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्डमा नकआउट हुन पुगिन् ।
टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा मंगलबार तथा गौरिकाले महिला १०० मिटर फ्रि स्टाइलमा बुधबार प्रतिस्पर्धा गर्नेछिन् । सरस्वती चौधरीले महिला १०० मिटर दौडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछिन् । हाम्रो खेलकुद