प्रहरीमा राजनितिक हस्तक्षेप, एआइजीको सङ्ख्या थप्ने सरकारको तयारी


  • प्रहरीमा राजनितिक हस्तक्षेप, एआइजीको सङ्ख्या थप्ने सरकारको तयारी
  • काठमाडौं । प्रहरीको भावी नेतृत्वको एकल दाबेदार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल यति बेला तनावमा छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको सिफारिसमा पोखरेल एआईजीमा बढुवा भएका हुन्। पोखरेल तनावमा हुनुको प्रमुख कारण हो, ओलीकै पालामा अर्का डीआईजी सहकुल बहादुर थापाको एआईजीमा बढुवा। भक्तपुर घर भएका थापाले एआईजीमा बढुवा हुन एमालेकै नेता महेश बस्नेतमार्फत तत्कालीन प्रधानमन्त्री ओलीलाई दबाब दिएका थिए। बस्नेतले केही दिनअघि मात्रै युवा संघको कार्यक्रममा भने, ‘प्रहरीमा अब जो आईजीपी भए पनि एमाले बलियो छ।’ बस्नेतको भनाइ र सरकारको गराइबीच तारतम्य मिलेको देखिन्छ। भलै पोखरेल थापाभन्दा वरिष्ठ एआईजी हुन्। तर, महानिरीक्षक नियुक्ति प्रक्रियामा सरकारले चाहेको व्यक्तिलाई सिफारिस गर्न सक्छ। एआईजीद्वय पोखरेल र थापा प्रहरी सेवा प्रवेश (इन्स्पेक्टर)मा एउटै ब्याजका भए पनि पोखरेल ६ महिनाअघि एआईजीमा बढुवा भएका कारण ‘सिनियर’ मानिन्छन्। उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले एआईजीको संख्या बढाउने तयारी गरेका छन्। भावी आईजीपीको प्रतिस्पर्धामा रहेका पोखरेल र थापा दुवैलाई राजनीतिक दृष्टिकोणबाट आएको बुझाइ देउवाको छ। केही डीआईजीले विभिन्न शक्ति केन्द्रमार्फत एआईजी संख्या बढाउनुपर्ने र भावी नेतृत्वबाट थापा र पोखरेल दुवैलाई वञ्चित गर्नुपर्ने दबाब देउवालाई दिएको स्रोतको दाबी छ। ओली सरकारले नै सरुवा गरेका चार एआईजीलाई पुरानै कार्यालयमा थमौती गरेर देउवाले प्रहरी आफूले भनेअनुसार चल्नुपर्ने जनाउ दिइसकेका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव महेश्वर न्यौपानेलाई अन्य एआईजीको सरुवा गरेपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरि पाललाई नचलाउन सुझाव दिएका थिए। तर, मन्त्रिपरिषद्ले सरुवा गर्दा चारै एआईजीको गरेको थियो। प्रहरी मुख्यालयका एक उच्च अधिकृत भन्छन्, ‘सरुवा–बढुवामा कम्तीमा प्रहरी महानिरीक्षकको राय सुझाव लिने चलन हराइसक्यो। जसलाई मन लाग्यो उही सम्बन्धित अधिकृत नै नेताको दैलो धाउने र आईजीपीलाई दबाब दिने प्रवृत्ति अहिले पनि हाबी छ।’ आईजीपी क्षेत्रीको कार्यकाल ०७८ वैशाख १८ गतेसम्म छ। देउवाले अघिल्लो कार्यकालमा हुँदा १५ जना एआईजी बनाएका थिए। पछि ओलीले नै प्रहरी नियमावली संशोधन गरेर तीन जनामा झारेका थिए। पोखरेल र थापालाई एआईजी बनाउँदा आफैंले तय गरेको मापदण्ड ओली सरकारले मिच्यो। अब फेरि देउवालाई थप एआईजी सिर्जना गर्ने दबाब पार्टीभित्रै बढेको छ। सरकारलाई आवश्यकता पर्‍यो दरबन्दी थप्ने र आवश्यकता परेर दरबन्दी घटाउने प्रवृत्तिले प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेप बढेको देखाउँछ। प्रहरीमा देखिने गरी नै राजनीतिक हस्तक्षेप बढ्दा शान्ति सुरक्षामै असर गर्ने पूर्वप्रशासक र प्रहरी अधिकृतहरूको भनाइ छ। पछिल्लो पटक प्रहरी नायब निरीक्षक (सई) बाट प्रहरी निरीक्षकमा बढुवा गर्दा पनि वरिष्ठलाई मिचेको आरोप गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक क्षेत्रीमाथि छ। पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी प्रहरी ऐन/नियमावलीले प्रहरी महानिरीक्षकलाई प्रस्ट पारेका अधिकारमा सरकारले हस्तक्षेप गर्नु नहुने बताउँछन्। ‘प्रत्येक सरुवा/बढुवामा सरकारले हस्तक्षेप गर्न थाल्यो भने प्रहरीमा चेन अफ कमान्ड फितलो हुन्छ’, ठकुरी भन्छन्, ‘सरकारले संगठनलाई सुधार्नेभन्दा पनि गिजोल्दै आएको छ। यो प्रवृत्ति गलत हो। यसले शान्ति सुरक्षामा दीर्घकालीन असर गर्छ।’ उनका अनुसार नीतिगत तहमा असर गर्ने गरी हचुवाका भरमा गरिएका सरुवा–बढुवाले प्रहरी संगठन झन् कमजोर हुँदै जान्छ। आईजीपीलाई परामर्श नगरीकनै भटाभट मन्त्रिपरिषद्ले निर्णय गर्दा त्यसको असर के होला भन्ने हेक्का सरकारले राख्नुपर्छ।याे खबर आजको अन्नपूर्ण राष्ट्रिय दैनिकमा प्रकाशित छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *