तनहुँको बन्दिपुर गाउँपालिका–५ स्थित याम्पा दुग्ध उत्पादक सहकारी संस्थामा दूध बिक्री गर्ने कृषकलाई अनुदान बापत रु १८ लाख वितरण गरिएको छ । उत्पादनका आधारमा अनुदान वितरण गर्ने नीति बमोजिम गाउँपालिकाले प्रोत्साहन स्वरुप सो रकम प्रदान गरेको हो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सोमबार रकम वितरण गर्दै कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइने जानकारी दिए।सो सहकारी संस्था मार्फत् दूध विक्री गर्ने एक सय ५२ कृषकले अनुदान बापतको रकम प्राप्त गरेका छन् । सबैभन्दा बढी याम्पास्थित नमूना गाई फार्मका सञ्चालक पुष्प गैह्रेले रु एक लाख १९ हजार अनुदान रकम प्राप्त गरेको छ भने सबैभन्दा कम पाउनेले रु तीन हजार बुझेका छन् ।
सो सहकारीबाट वार्षिक रु १३ लाख लिटर दूध विक्री भएको थियो । “कृषकलाई पशुपालनतर्फ आकर्षित गराउन उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका हौ, यस कार्यक्रमले यहाँका कृषक उत्साहित छन्,” उनले भने । सहकारीका अध्यक्ष छविलाल घिमिरेले सहकारीमार्फत् बन्दिपुरका अलवा आँबुखैरेनी र गोरखाको पालुङटारका कृषकले पनि दूध विक्री गर्दै आएको जानकारी दिए ।
गाउँपालिकाले बन्दिपुर–१ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामार्फत् दूध विक्री गर्ने ६१ कृषकलाई यसअगाडी रु एक लाख ६० हजार वितरण गरिसकेको छ । उक्त सहकारीमार्फत् दूध विक्री गर्नेले रु पाँच हजारदेखि रु २६ हजारसम्म अनुदान रकम पाएका छन् । उक्त सहकारीमार्फत् व्यास र भानुका कृषकले पनि दूध बिक्री गर्दै आएका छन् ।
दूध बिक्री गर्ने कृषकलाई १८ लाख अनुदान
तनहुँ ।