विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त
काठमाडौं ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
घिसिङलाई कार्यकारी निर्देशक बनाउने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जानकारी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई मन्त्रिपरिषदको कार्यालयले मंगलबार गराएको हो । योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लोडसेडिङ हटाउन प्राधिकरणको नेतृत्वमा रहेर महत्वपुर्ण भूमिका खेलेका घिसिङलाई पुनर्नियुक्त गर्न मानेका थिएनन् । नया सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबीच कुलमानलाई प्राधिकरणमा ल्याउने सहमति भएको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गत साउन १९ गते प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई पदबाट राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । सरकारले उचित जिम्मेवारी दिने गरी निर्णय गर्ने भन्दै शाक्यलाई प्राधिकरणबाट भने विदा हुन आग्रह गरेकी थिइन् ।
घिसिङलाई कार्यकारी निर्देशक बनाएसँगै प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
सरकारले शाक्यले अहिले प्राधिकरणमा पाउँदै आएको तलब सुविधा नघट्ने गरी सो जिम्मेवारी दिने निर्णय गरेको हो । यसका लागि अर्थ मन्त्रालयले पनि सहमति दिएको बताइएको छ ।