अफगानिस्तान तालिवानको हातमा छ : राष्ट्रपति अस्रफ
काठमाडौं ।
देश छोडेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । उनले रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको समेत जिकिर गरेका छन् ।
घानीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अफगानी जनताको समन, सम्पत्ति र आत्मसंरक्षणको जिम्मा अब तालिवानसँग रहेको उल्लेख पनि बताएका छन् ।
देश छोडेपछि पहिलो टिप्पणीमा उनले भनेका छन्, ‘तारबार बन्दुकको बलबाट तालिवानले जितेको छ । अब मुलुकको प्रतिष्ठा र जनताको जीवन उनीहरुको हातमा छ ।’
यस्तै उनले भनेका छन्, ‘राजधानी छोड्नु मेरो लागि कठिन निर्णय थियो । आइतबार म निकै सकसमा परेको थिएँ । तालिवानका लडाकु राष्ट्रपति भवनमा पस्न उद्यत थिए । म उनीहरुको प्रतिकार गरौं वा मेरो प्यारो मुलुक, जसका लागि मैले आफ्नो जीवन २० वर्षदेखि सुम्पेको छु, त्यसलाई नै त्यागौं । अन्ततः मैले रगतको भेल निम्त्याउन चाहिनँ ।’
‘उनीहरु अब नयाँ ऐतिहासिक परीक्षामा छन् । या त उनीहरुले अफगानिस्तानको नाम र सम्मानलाई रक्षा गर्ने छन् या अन्य स्थान र नेटवर्कहरुलाई प्राथमिकता दिनेछन्,’ उनले भने ।
तर आफू कहाँ छु भन्ने घानीले खुलाएका छैनन् । केहि सञ्चारमाध्यमले भने उनी ताजीकिस्तानमा रहेको बताइरहेको छ ।