‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकामा हुने


  • 'ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकामा हुने
  • काठमाडौं ।
    नेपाली फिल्मलाई विश्वस्तरमा पुर्‍याउने उद्देश्यले सन् २०२१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो । कोरोनाका कारण सन् २०२० र २०२१ मा भने अवार्ड हुन सकेको थिएन ।
    ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’को प्रायोजन र नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को आयोजनामा हुन लागेको अवार्डमा सफल नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान, अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान, भुटानी कलाकर्मीलाई सम्मान गरिने कार्यक्रममा जानकारी गराइयो ।
    अवार्ड कार्यक्रममा भुटानी फिल्महरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो हुनेलाई अवार्ड पनि प्रदान गरिने नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । नेपालबाट गएका र अमेरिकामा बस्ने कलाकर्मीहरुको पूर्नमिलन गराउने र नेपाललाई विदेशीमाझ फिल्म छायांकन गर्न सुन्दर ठाउँको रुपमा प्रचार गर्नु पनि अवार्डको उद्देश्य रहेको उनले जानकारी दिएका छन् ।
    ‘यो अवार्डको उद्देश्य विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्नु हो । नेपाली फिल्मको सफलता विदेशमा गएर मनाउनका लागि हो । अमेरिकामा नेपालबाट धेरै कलाकारहरु पुगेका छन्, उनीहरुसँग पूर्नमिलन गर्नु पनि अवार्डको उद्देश्य हो । नेपाललाई फिल्म टुरिजमको हब बनाउनु पनि अवार्डको उद्देश्य हो । हामीले पैसा कमाउनका लागि अवार्ड गरेका होइनौं,’ अध्यक्ष मल्लले भने ।
    चाँडै अवार्डका लागि छनोट समिति गठन हुने बताइएको छ । ‘ग्लोबल फिल्म अवार्ड’ लाई शुभकामना दिनका लागि नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । हरेक पटकको झैं यसपटक पनि अवार्ड निष्पक्ष हुने अध्यक्ष मल्लको दाबी छ । Filmykhabar वाट साभार ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *