श्रममन्त्री श्रेष्ठ युएई जाँदै


  • श्रममन्त्री श्रेष्ठ युएई जाँदै
  • काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)को संयुक्त समितिको बैठक र ‘भिजिट भिसा’मा युएईमा अलपत्र नेपालीको समस्या समाधान गर्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ । भ्रमणका क्रममा मन्त्री श्रेष्ठले युएईका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकसँग पनि छलफल गर्ने कार्यक्रम रहेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले मङ्गलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायबारे युएईका मानव संशाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारसँग छलफल गर्ने बताइएको छ । मङ्गलवार नै नेपाल–युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा नेपालका तर्फबाट उनले सम्बोधन गर्नेछन् । संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन् । बैठकमा सन् २०१९ मा नेपाल र युएईबीच भएको श्रम–सम्झौता कार्यान्वयनमा देखापरेका समस्या समाधानबारे छलफल हुनेछ ।मन्त्री श्रेष्ठले बुधवार आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपाली प्रतिनिधिमण्डलले बुधवार दुबईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्था (तडवीर सेन्टर)को भ्रमण गर्ने कार्यक्रम छ ।
    नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच श्रम समझदारी र नेपालीलाई रोजगारीको अवसरका बारेमा छलफल गर्न मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल बिहीवार साँझ युएईबाट त्यसर्फ प्रस्थान गर्नेछ । नेपाली श्रमिकको माग तथा गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र रोजगारीका थप अवसरबारे त्यहाँका उच्च अधिकारीसँग छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्स भ्रमण सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल आइतवार कतार जाने र सोमवार कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी चैत ८ गते स्वदेश फर्कनेछ । प्रतिनिधिमण्डलमा श्रम सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्का सहभागी छन् । भिजिट भिसामा लैजाने व्यक्ति/संस्थालाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको मन्त्रालयले जनाएको छ । दृष्टि न्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *