कोरिया भाषाको परिक्षा तोकिएको समयमा नहुने


  • कोरिया भाषाको परिक्षा तोकिएको समयमा नहुने
  • काठमाडौं । करिब तीन वर्षपछि हुन लागेको कोरिया भाषाको परीक्षा तोकिएको समयमा नहुने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका कारण परीक्षा मिति सर्ने भएको हो ।भाषा परीक्षा दुई चरणमा हुनेछ । यसअघि कृषि तथा पशुपालन क्षेत्रका लागि पहिलो चरणको परीक्षा वैशाख २६ गतेदेखि जेठ १३ गतेसम्म हुनेछ भने दोस्रो चरण जेठ २४ गतेदेखि असार १६ गतेसम्म हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको थियो । निर्वाचनका कारण पहिलो चरणमा हुने परीक्षा प्रभावित हुने भएको छ । निर्वाचन हुने भएकाले केही समयका लागि परीक्षाको मिति सर्ने शाखाका निमित्त प्रमुख कमला खनालले जानकारी दिइन् । ‘शाखाले वैशाख २६ गतेदेखि परीक्षा गर्ने तयारी गरेर सूचना पनि जारी गरेको थियो’, उनले भनिन्,’ निर्वाचनको कारण केही पहिले तोकिएको मितिभन्दा पछाडि हुनेछ ।’शाखाले परीक्षा दिने क्यान्डिडेटको विवरण कोरिया पठाइएको छैन । उनले आज वा भोलिसम्ममा सबै परीक्षार्थीको विवरण पठाइ सक्ने बताइन् । कुलपरीक्षार्थीहरू ४४ हजार ८ सय ५३ रहेको उनले जानकारी दिइन्। फागुन ३० गते शाखाले परीक्षार्थीका लागि आवेदन भर्न आव्हान गरेको थियो । औद्योगिक क्षेत्रको १०० पूर्णाङ्कको परीक्षामा उत्तीर्ण हुन कम्तीमा ५५ अंक ल्याउनुपर्नेछ । ९० पूर्णाङ्कको कृषि तथा पशुपालन क्षेत्रमा उत्तीर्ण हुन कम्तिमा ३६ अंक ल्याउनुपर्नेछ । परीक्षामा उत्तिर्ण ९ हजार ६५४ मध्ये औद्योगिक क्षेत्रमा ६ हजार ९ सय १३ र कृषिमा २ हजार ७ सय ४१ कामदार लैजाने छ ।परीक्षार्थीको विवरण पठाएपछि कोरियाले परीक्षाको सेड्युल पठाउने खनालले जानकारी दिइन् । सेड्युल आइसकेपछि परीक्षा मिति सार्वजनिक गरिने उनको भनाइ छ। कुल परीक्षार्थी ४४ हजार ८ सय ५३ जना छन् । कामदारको कोटा बढाउन वार्ता भइरहेको समेत उनले बताइन् । इपीएस शाखाका अनुसार परीक्षा अनलाइन माध्यमबाट हुनेछ । ट्याब्लेटको माध्यमबाट परीक्षा गरिन्छ । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरेका थिए ।परीक्षा हलमा एक पटकमा दुई सय परीक्षार्थीहरुलाई समावेश गराइन्छ । तीन(चार सिफ्टमा परीक्षा हुनेछ । नेपाली श्रमिकको लागि कोरिया आकर्षक गन्तव्य मानिन्छ । विशेषगरी कृषि र औद्योगिक क्षेत्रमा कामदार गइरहेका छन् । कोरियाले नियमित र कमिटेड कामदारलाई नियमित रुपमा लैजाने गरेको छ । गत कात्तिक १० गते कमिटेड कामदार गएका थिए । कोभिड(१९ महामारी सुरु भएपछि कोरिया जाने कामदारहरूले आफ्नो खर्चमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू गरेको थियो ।नियमित कामदारले पनि दश दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो । यसअघि गएका कमिटेड कामदारले समेत क्वारेन्टाइन बस्नुपरेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *