जुम्लामा ‘प्रकाश’को प्रिमियर हुँदै


  • जुम्लामा ‘प्रकाश’को प्रिमियर हुँदै
  • जुम्ला ।
    नेपाली भाषाको उदगम थलो जुम्ला सिजामा नेपाली फिल्म ‘प्रकाश’को प्रिमियर हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को भदौ ५ गते जुम्लामा वर्ल्ड प्रिमियर हुन लागेको हो । जुम्ला गाँउको मोक्ष माध्यमिक विद्यालयको प्राङ्गणमा प्रोजेक्टरमार्फत् फिल्मको प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले जानकारी दिए ।
    आइतवार हुने प्रिमियरमा सहभागी हुन फिल्मका लेखक विकास सुवेदी सहितको टिम जुम्ला जानेछ । स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुका साथै सिंगो गाउँबासीलाई फिल्म हेर्न निम्ता दिइएको छ । फिल्म जुम्लाको परिवेशमा निर्माण भएकाले पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेको निर्माण पक्षले जनाएको छ ।
    निर्देशक राउत भन्छन्, ‘जुम्लाको भाषा, संस्कृति, रहन सहन, रितिरिवाजका माध्यमबाट कथा भनेका छौं । त्यसैले पनि हामीले पहिलो दर्शकको रुपमा स्थानीय जनतालाई रोजेका हौं । जुम्लाबासीले फिल्म हेर्दा अपनत्व महसुस गर्छन् वा गर्दैनन् भन्ने कुराले पनि फिल्म यथार्थसँग कति नजिक छ भन्ने कुरा प्रष्ट हुनेछ ।
    शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा बोलेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारहरुको अभिनय छ ।
    विकास सुवेदीको पटकथा तथा संवाद रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन र जीवन थापाको दृश्य सम्पादन छ ।फिल्मिखबरवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *