गृहमन्त्रीका पिएसओ सुन तस्करीमा मुछिए
काठमाडौं ।
गृहमन्त्री बालकृष्ण खाणका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) टंक कार्की सुन तस्करी विवादमा मुछिएका छन् । तस्करीको सुन लुकाएको आरोपमा उनले एक व्यक्तिलाई थुनाएर पैसा लिएको आरोप लागेको छ ।
त्यससम्बन्धि उजुरी परेपछि उनीमाथि छानबिन सुरु भएको छ । कार्कीलाई पीएसओको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए । डिएसपीको नेतृत्वमा उनीमाथि छानबिन थालिएको छ ।
गत गत असारमा दुबईबाट आएका पाँच व्यक्तिले ५० ग्रामका दरले ल्याएको सुन फिर्ता नगरेपछि भएको विवादमा गृहमन्त्रीका पिएसओ जोडिएका हुन् । जसमा उनले चितवनका एक व्यक्तिलाई पक्राउ गरी त्यो सुन बराबरको पैसा फिर्ता दिन दबाब दिएका हुन् ।
करिब २० लाख रुपैयाँ बराबरको तस्करीको सुन चार जनाले गायब बनाएपछि तस्करका नाइकेले गृहमन्त्रीका पिएसओ कार्कीलाई प्रयोग गरी सार्वजनिक मुद्दामा थुनाएर पैसा असुलेका हुन् । तर, सुन तस्करी गर्ने व्यक्तिमाथि छानबिन सुरु भएको छैन ।
सुन तस्करीको भएकाले कतै उजुरी पनि नपर्ने भन्दै दुबईबाट आएका युवकहरुले गायब बनाउन खोजेका थिए । तर, तस्करीमा संलग्न समूहको प्रहरी अधिकारीसँग समेत सेटिङ भएकाले उनीहरुले यसरी थुनाएर पैसा असुल्न खोजेका हुन् ।
यो घटनामा गौशाला वृत्तका तत्कालिन डिएसपी केशब भट्टराई पनि छानबिनमा तानिने प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।दृष्टि