नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
काठमाडौं ।
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ ।नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक-एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा-आराधना गरिएको हो ।
पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।
नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि पूजा आराधना गरिन्छ। यस्तो उपासना घटस्थापना गरी जमरा राखिएका दशैँघर तथा शक्तिपीठहरूमा चल्ने गर्दछ । यो समयमा देवीभागवत महापुराण तथा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।