मतदान बिहान ७ बजेबाट सुरु, निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न आयोगको अपिल



काठमाण्डौं ।
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु बिहीबारबाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो ।
बिहीबार निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने आचारसंहितामा उल्लेख भएअनुसार कोणसभा, गोष्ठी, सेमिनार, र्याली, गर्दा आचारसंहितामा निर्धारण भएका कुराहरूको पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न राजनीतिक दल र उम्मेदवारहरूसँग अपिल गरेका हुन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान बिहान ७ बजेबाट सुरु हुने र मतदान सुरु हुनपूर्वको ४८ घण्टा कुनैपनि उम्मेदवार र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार गर्न नपाउने पनि स्पष्ट पारे । निर्वाचन आयुक्त भण्डारीले उम्मेदवार र राजनीतिक दलहरुले आचारसंहिताको सीमा नमिचिकन प्रचारप्रसार गरे निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित हुने दाबीसमेत गरे ।