ट्यांकरमा मोटरसाइकल ठोक्किँदा भक्तपुरमा एक जनाको मृत्यु



भक्तपुर ।
भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।
कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो।
मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको साढे ७ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए।
यस्तै मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन्। उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरीको नियन्त्रणमा छ।
ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवारलाई प्रहरीले पक्राउ गरेको छ।
घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।