काठमाडौं-४ मा गगन थापाको ह्याट्रिक जित



काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०२ मत पाए भने नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।
३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।