कामाठाडौं । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै डिल्लीबहादुर चौधरी नियुक्त भएका थिए ।
गण्डकीका मुख्यमन्त्री पाण्डेले मध्यान्ह सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष र लुम्बिनीका मुख्यमन्त्री चौधरीले बिहान साढे ११ बजे अमिक शेरचनसँग सपथ लिने कार्यक्रम तय भएकाे दुबै प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा पाण्डेलाई कांग्रेसका २७ सहित नेकपा माओवादी केन्द्रका ७ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरि ३५ जनाले समर्थन गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री पाण्डे गोरखा–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । विश्वासको मत गुमाउँदै नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि त्यहाँ नयाँ गठबन्धन सरकार बनेको हो ।
यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीलाई प्रदेशका ८ दलका ५२ र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक/एक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ ।
दुबै प्रदेशमा विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि कांग्रेसले एकैदिन दुई प्रदेशमा आफु नेतृत्वको सरकार गठन गरेको हो ।