रविलाई साविककै मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक


  • रविलाई साविककै मन्त्रालय दिन प्रधानमन्त्री सकारात्मक
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । रास्वपाका सभापति रवि लामिछानेले राखेको प्रस्तावमा सहमत भए रास्वपा पुरानै मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

    लामिछानेले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रचण्डसँग सरकारका साझा कार्यक्रम संशोधन हुनुपर्ने, साविकको मन्त्रालय पाउनुपर्ने प्रस्ताव राखेका छन् । ती विषयमा सहमति भए रास्वपा सरकारमा सहभागी हने प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

    रास्वपाको माग सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सकारात्मक रहेको पनि उनले बताए । प्रधानमन्त्री प्रचण्डले पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रममा रास्वपाका एजेण्डा समावेश गर्न तयार रहेको पत्रकार सम्मलेनमार्फत बताइसकेका छन् । यद्यपी सत्तारूढ दलबीच थप सहमति एवं छलफलका लागि प्रधानमन्त्रीले शुक्रबारसम्मको समय माग गरेका छन् ।

    सोमबारको केन्द्रीय समिति बैठकपछि प्रवक्ता ढकालले भने, ‘हामी लामो समय समर्थन पनि गर्ने र सरकारबाहिर पनि बस्ने कुरा रहँदैन । सरकारलाई दिएको समर्थन कायमै राख्नुपरेमा सरकारमै सहभागी हुन्छौं । यदि सरकारमा सहभागी हुने अवस्था नआए समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्छौं ।’



  • ‘प्रधानमन्त्रीले हाम्रो पार्टी सभापतिलाई पुरानो मन्त्रालय दिन र नीति तथा कार्यक्रम पुनर्लेखनका लागि मञ्जुर छु भन्ने कुरा गरिसकेको हुनाले अहिले पार्टीले जाने या नजाने निर्णय गर्न मात्रै बाँकी हो,’ प्रवक्ता ढकालले भने ।

    स्रोतका अनुसार रास्वपा गृह वा अर्थमध्ये कुनै एक मन्त्रालय पाउनैपर्ने अडानमा छ । गृह मन्त्रालयको जिम्मेवारीमा अहिले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् भने अर्थ मन्त्रालयको जिम्मेवारीमा कांग्रेस नेता प्रकाशशरण महत छन् ।

    १० पुसमा भएको एमालेसहितको गठबन्धनमा रास्वपाले उपप्रधानमन्त्री तथा गृह मन्त्रालय, श्रम र शिक्षा मन्त्रालय पाएको थियो । स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री पाएको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *