काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।
गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै कांग्रेस संसदीय दलका नेता उद्धप थापा मुख्यमन्त्री बन्ने भएका छन् । तर, थापा नेतृत्वको सरकारका राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागी नहुने भएको छ ।
गठबन्धनको निर्णयपछि दृष्टिन्यूजसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब प्रदेश सरकारमा सहभागी हुने सम्भावना लगभग समाप्त भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष लिङ्देनले भने– ‘प्रदेशलाई मध्यवधितर्फ जानबाट रोक्नका लागि हामी पनि सरकारमा सहभागी हुने कुरा भएको थियो । तर, कांग्रेसले सरकार गठन गर्ने भएसँगै त्यो सम्भावना लगभग सकिएको छ ।’
नयाँ सरकारमा राप्रपा सहभागी नहुने भएसँगै कोशी प्रदेशमा मध्यावधि निर्वाचनको सम्भावना बढेको छ । किनकी, गठबन्धन दलसँग ४६ मत मात्र पुग्छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४७ मत चाहिन्छ ।
सभामुखलाई पनि गणना गर्दा गठबन्धनसँग बहुमत पुग्छ । तर, सरकार दाबी गर्ने सन्दर्भमा सभामुखलाई सामेल गर्न पाइने या नपाइने स्पष्ट छैन । तर, मत विभाजनको क्रममा सभामुखले निर्णायक मत भने दिनसक्छ ।
सभामुखलाई समेत गणना गरेर सत्तारुढ दलले मुख्यमन्त्री दाबी गरेको अवस्थामा एमाले अदालत जाने सम्भावना रहेको छ । यस्तो अवस्थामा प्रदेशको राजनीति झनै गिजोलिने सम्भावना रहन्छ ।
गठबन्धनले राप्रपालाई समेत सरकारमा सामेल गर्न सकेको खण्डमा मात्र प्रदेश मध्यावधि निर्वाचनबाट रोकिने छ । सरकारमा सहभागी नहुने भएसँगै राप्रपा अध्यक्ष लिङ्देनले मध्यावधि निर्वाचनको सम्भावना बढेको प्रतिक्रिया दिएका छन् ।