सात राजदूत नियुक्तिको तयारी


  • सात राजदूत नियुक्तिको तयारी
  • काठमाडौं । सरकारले रिक्त रहेका ७ देशमा राजदूत नियुक्त गर्ने तयारी गरेको छ । ३२ देशमा नेपालका ३९ आवासीय कूटनीतिक नियोग छन् । ती मध्ये हाल दुई कुटनीतिक नियोग र पाँच दूतावास नेतृत्वबिहीन छन् ।

    न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघीय स्थायी नियोग, युएई, क्यानडा, कुवेत, थाइल्यान्ड र फ्रान्समा राजदूत नियुत्किा लागि सिफारिस गर्ने तयारी गरेको हो ।

    न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि अमृतबहादुर राई, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराई, युनाइटेड अरब इमिरेट्सका लागि राजदूत कृष्णप्रसाद ढकाल, क्यानडाका भृगु ढुंगाना, कुवेतका दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि राजदूत दीपक अधिकारीको कार्यकाल सकिएर स्वदेश फिर्ता भइसकेका छन् ।

    परराष्ट्र मन्त्री एनपी साउदका अनुसार आगामी बस्ने मन्त्रिपरिषद्को बैठकबाट राजदूतसँगै नयाँ परराष्ट्रसचिव नियुक्ति प्रक्रिया अघि बढाउने तयारी भइरहेकोे छ ।



  • कार्यकाल सकिएर स्वदेश फर्केका सबै परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । अब सातै स्थानमा परराष्ट्रका सहसचिवहरूको नियुक्तिका लागि सरकारले सिफारिस गर्न लागेको हो ।

    परराष्ट्रमा राजदूतका लागि सहसचिवहरू लोकबहादुर थापा, धनबहादुर ओली, रामप्रसाद सुवेदी, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, प्रकाशमणि पौडेललगायत दाबेदार छन् । 

    परराष्ट्रसचिव भरतराज पौड्याललाई न्युयोर्कस्थित नेपाली स्थायी प्रतिनिधिका लागि सिफारिस गर्ने सरकारको तयारी छ । राजदूतहरूको सिफारिस गरेपछि संसदीय समितिले उनीहरूको सुनुवाइ गर्ने र समितिको स्वीकृतिपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *