नेपालगन्ज २५, साउन ।
समुदायस्तरमै कोरोना भाइरसको संक्रमण देखिन थालेपछि स्थानीय प्रशासनले बर्दियामा आज आइतवार विहान ६ बजेदेखि लागु हुने गरी पाँच दिने निषेधाज्ञा लागु गरेको छ । बर्दियामा संक्रमितको संख्या दैनिकरुपमा थपिदै गएपछि कोरोना संकट व्यवस्थापन समितिको आकास्मिक बैठकले निषेधाज्ञा लगाएर भाइरस संक्रमण फैलिन नदिने निष्कर्णमा पुगेको समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो ।
निषेधाज्ञा लागु गरिएसँगै आइतवार विहानदेखि बर्दियाको मुख्य बजार गुलरिया, राजापुर, बासगढी, मैनापोखर विहानैदेखि सुनसान बनेका छन् । अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ । सबैभन्दा बढी आउजाउ गरिने छिमेकी जिल्ला बाँकेको नेपालगन्जमा कोरोना संक्रमित समुदायस्तरमा बढ्न थालेपछि नियन्त्रणका लागि बर्दियाले पनि निषेधाज्ञा गरेको जनाएको छ । यस्तै गएको मंगलवारदेखि निषेधाज्ञा लगाइएको बाँकेमा शनिवार रातीदेखि नेपालगन्जलाई सील गरिएको छ ।


नेपालगन्जको सुर्खेत रोड । तस्विरः रमा शर्मा
सुर्खेतरोडलाई बाहिर पारेर नगरका मुख्य चोक, बजार र क्षेत्र सील गरिएको स्थानीय प्रशासनले जनाएको छ । सुर्खेतरोडलाई बाहिर पार्ने गरी पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकदेखि चारवाहिनी चोक, पिपल चौतारा हुँदै बाँकेगाउँ, बाँकेगाउँदेखि रिङरोड फुल्टेक्रास्थित आर्मी ब्यारेक हुँदै नहरपुर्वा चोकसम्म, नहरपुर्वा चोकदेखि बसपार्क रोडलाई सील गरिएको हो ।
सील गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षाकर्मी, एम्वुलेन्स, शबबाहक र दमकलबाहेकका सवारीसाधन, पसल, व्यवसाय र हिडड्लमा प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनको निर्णय अटेर गरे संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले चेतावनी दिनुभयो ।