काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्धको आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि आज तेस्रो दिन पनि आन्दोलनले निरन्तरतना पाउने भएको हो ।
शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् । काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।

गत वर्षको तथ्याङ्कअनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।