प्युठानमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, तीन जना घाइते



प्युठान । प्युठानमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको माण्डवी गाउँपालिका वडा नम्बर दुई गोलबाङ्गमा ना ४ ख ५५६१ नम्बरको बस दुर्घटना भएको प्युठान प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि चालक तथा सवारी धनी घोराही उपमहानगरपालिकाका वर्ष ४० का तारा रानाको ज्यान गएको छ । त्यस्तै, तीन जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा दाङका वर्ष ३० का वसन्त विक, माण्डवी गाउँपालिका १ का वर्ष ४५ का लक्ष्मी खत्री र सोही स्थानका वर्ष ६५ का गोकर्ण अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक पोषण राज ढकालले सल्लेरी खबरलाई बताए ।
घाइते सबैको राप्ती विज्ञान प्रतिष्ठान अस्पतालमा उपचारको लागि पठाइएको ढकालले जानकारी दिए ।
दाङ फक्रने क्रममा बस फर्काउँदा गोलबाङ्गमा साँगुरो मोडका कारण दुर्घटना भएको प्रहरीले उल्लेख गरेको छ ।