मस्को विमानस्थलवाट पक्राउ परे पुटिनका आलोचक नभाल्नी



स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ। उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन्। क्रेमलीनका आलोचक ४४ वर्षीय नभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए। उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो।
नभाल्नीले उनलाई विष दिने कार्यका पछाडि रुसी अधिकारीहरू रहेको बताएका छन्। खोजपत्रकारहरूले उनको आरोप सही भएको बताएका छन् तर क्रेमलीनले त्यसलाई अस्वीकार गरेको छ।अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडनको टोलीले नभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ।
बाइडनले राष्ट्रिय सुरक्षा सल्लाहकारमा मनोनित गरेका जेक सुलिभानले नभाल्नीको ज्यान लिने कोसिस गरेकाहरूलाई जबाफदेही बनाउन पनि आह्वान गरे।
अन्य पश्चिमा नेताहरूले पनि नभाल्नीको पक्राउको निन्दा गरेका छन्। युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले नभाल्नीको पक्राउलाई ‘अस्वीकार्य’ भनेका छन्।”उनलाई तत्काल रिहा गर्न म रुसी अधिकारीहरूलाई आह्वान गर्छु,” मिसेलले ट्वीटमा लेखेका छन्।
“म सही छु भन्ने मलाई थाहा छैन। मलाई कुनै डर छैन,” मस्कोको शेरेमेत्येभो विमानस्थलमा पक्राउ पर्नु केही मिनेट अगाडि आफ्ना समर्थक तथा सञ्चारकर्मीलाई नभाल्नीले यसो भनेका थिए। उनका वकिललाई साथमा जान दिइएन।
यसअघि आइतवार उनको विमान उत्रिने भनिएको नुकोभो विमानस्थलमा अतिरिक्त दङ्गा प्रहरी खटाइएको तथा सुरक्षा बन्दोबस्त गरिएको थियो। कैयन् अन्य अभियानकर्मीहरू पक्राउ परेको रुसी सञ्चारमाध्यमले जनाएका थिए।
गत वर्ष अगस्टमा स्नायु विष दिइएपश्चात् नभाल्नीलाई जर्मनीमा उपचार गरिएको थियो। त्यतिखेर साइबेरियामा आन्तरिक उडानकै क्रममा विमानभित्र नभाल्नी बेहोस भएका थिए।
उनलाई नोभिचोक नामक विष दिइएको पछि पत्ता लागेको थियो।रुसी अधिकारीहरूले सो घटनामा आफू जिम्मेवार नभएको बताउँदै आएका छन् भने नभाल्नीले चाहिँ राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा आफूलाई विष दिइएको भन्दै आएका छ।स्रोत बिबिसी