भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु



काठमाडौं ।
भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार अरु डेढ सय भन्दा बढी वेपत्ता छन् ।
चमोली जिल्लाका अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार साँझसम्म आठ जनाको शव फेला परेको छ । डेढ सयभन्दा बढी वेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको आइटीबीपीका प्रवक्ता विवेककुमार पाण्डेलाई उदृत गर्दै एनआईले उल्लेख गरेको छ ।
सोमबार विहानसम्ममा फँसेका १६ जनाको उद्दार गरिएको छ । मृत्युभएका मध्ये एक जना नेपाली रहेको भारतीय अधिकारीहरुले बताएका छन् । उनको नाम र ठेगाना खुलेको छैन ।
मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ७० जना हराइरहेका छन् ।
दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्याएको छ ।
हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ । विपत्तिमा परेर हराउने १ सय ७० नेपालीको ‘प्रमाणित बेपत्ता सूची’ दिल्लीस्थित नेपाली दूतावासको अभिलेखमा राखिएको छ । हिमपहिरोको मुख्य स्थान जोशीमठ भनेकै नेपाली श्रमिकको चहलपहल रहने क्षेत्र हो । दृष्टिन्युजवाट