आजबाट नयाँ नोट साट्न पाइने



काठमाडौैं ।
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका हुन् ।
दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौं उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ ।
वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गएर नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।
काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ ।
केन्द्रीय बैंकले रु १५ अर्बसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले रु ३५ अर्ब बराबरको नयाँ नोट वितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।
नयाँ नोट २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत वितरण गर्ने व्यवस्था मिलाएको छ । रासस