विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा



काठमाडौं ।
सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आज (आइतबार) १५ वर्ष पूरा भएको छ ।
२०५२ फागुनदेखि ‘जनयुद्ध’ सुर गरेका माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि देशमा दशक लामो युद्ध अन्त्य भएको थियो ।
उक्त सम्झौतामा ‘सरकार र माओवादीबीच चालु युद्धविरामलाई स्थायी रुप दिँदै २०५२ सालदेखि चलिआएको सशस्त्र युद्ध समाप्त भएको घोषणा गर्दछौँ’ भनिएको छ ।
उक्त सम्झौता पत्रमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका थिए ।
उक्त प्रस्तावनामा ‘देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने संकल्प गर्दै’ शान्ति सम्झौता गरिएको उल्लेख छ ।