युवकको घाँटीमा गोली अड्किदा गम्भीर घाइते



जनकपुर ।
धनुषामा एक युवालाई प्रहार गरिएको गोली उनको घाँटीमा अड्किएको छ । १८ वर्षीय मुकेश मुखियामाथि प्रहार भएको गोली घाँटीमा लागेर अड्किएको हो ।
धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरमा भएको गोली प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । गम्भीर घाइते उनलाई उपचारका लागि राति नै काठमाडौं पठाइएको धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।
कमला नगरपालिका ७ घर भएका मुकेश बेंगाशिवपुरमा आफ्नो मामा भोगि मुखियाको घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार मामाको किराना पसलमा शनिबार राति आएका स्थानीयहरुसँग बसेर कुराकानी गरिरहेकाबेला मुकेशमाथि गोली प्रहार भएको थियो ।
घटनास्थलबाट पेस्तोल बरामद भएको र गोली प्रहार गर्ने व्यक्तिको पनि पहिचान भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी रजौरेले जानकारी दिए ।दृष्टिन्युज