नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक



मुम्बई ।
नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छन् ।
नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ ।
समाचार अनुसार बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो कामका लागि लोकप्रिय नोरा फतेहीलाई वैश्विक स्थितिलाई मध्यनजर गर्दै र विदेशी मुद्रा भण्डारलाई बचाउन ढाकामा प्रस्तुति दिन अनुमति नदिइएको उल्लेख छ ।
नोरालाई वुमेन लिडरसिप कर्पोरेसनले आयोजना गर्न लागेको एक कार्यक्रममा नृत्य प्रस्तुत गर्न र अवार्ड दिन बोलाइएको थियो । सांस्कृतिक मन्त्रालयले घट्दो विदेशी मुद्रा भण्डारबीच डलरको भुक्तानीमा केन्द्रीय बैंकको प्रतिबन्धलाई दाबी गरेको छ । जुन १२ अक्टोबरसम्म घटेर ३६ दशमलब ३३ बिलियन डलर भएको हो ।