दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुने


काठमाण्डौं ।
दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।
गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति र स्थान तय गरेको हो ।
बैठकमा सहभागी बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दशौं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको जानकारी दिए । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए । ‘२०८१ बैशाख वा मंसिरमा गर्ने भन्ने छ,’ भण्डारीले भने ।
बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए ।