बन्दीपुर सिस्नेघारीमा चितुवाको आक्रमणबाट बालिकाको मृत्यु



तनहुँ ।
बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ ।
घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा ११ वर्षीया बीना चेपाङको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा पनि बन्दीपुर गाउँपालिका–१ र ४ मा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको थियो । २ जना घाइते भएका थिए ।
चितुवाको आक्रमणबाट पछिल्लो ५ वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् ।