लि चियाङ चिनिया नयाँ प्रधानमन्त्रीमा



काठमाडौं ।
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को तेस्रो पटक महासचिवमा निर्वाचित गरेको केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ ।
ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपति सी सँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् ।
स्टेट काउन्सिल भनिने चिनियाँ मन्त्रिपरिषद्को अनुभव नभएका लीलाई पार्टीमा एकै पटक केही तह बढुवा सहित प्रधानमन्त्रीमा नियुक्त गरिएको हो। केन्द्रमा काम गरेको अनुभवबिनै प्रदेश वा नगरको जिम्मेवारीबाट सिधै प्रधानमन्त्रीमा बढुवा हुने ली चियाङ पहिलो अधिकारी हुन् । मन्त्रिपरिषद्को अनुभव नभएका कारण ली आफ्नो अधिकार प्रयोगका लागि राष्ट्रपति सीमा निर्भर रहनुपर्ने विश्लेषकहरूले बताएका छन्।
सीसहित चीनको नेतृत्व गर्न सात सदस्यीय पोलिटब्युरो स्ट्यान्डिङ कमिटीमा झाउ लेजी, वाङ हुनिङ,काई ची, डिङ सुइसिङ र ली सीको चयन भएको छ । आइतबार बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले ५ वर्षसम्मका नयाँ सहकर्मीहरुको परिचय गरेका थिए ।
शनिबार सम्पन्न पार्टीको २० औं महाधिवेशनमाले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो ।